Highlights

प्रेस विज्ञप्ति: सूचना प्रविधिको कुम्भ मेला ‘क्यान इन्फोटेक २०२३’

PDF

  ~~ प्रेस विज्ञप्ति ~~  सूचना प्रविधिको कुम्भ मेला ‘क्यान इन्फोटेक २०२३’ शुभारम्भ  २८औँ संस्करणको क्यान इन्फोटेक राजधानीमा सुरु    

काठमाडौँ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)को आयोजनामा मंगलबारदेखि क्यान इन्फोटेक २०२३ सुरु भएको छ । राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनीमा हलमा ६ दिनसम्म सञ्चालन हुने यो बृहत सूचना सञ्चार प्रविधि प्रदर्शनीको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले समुद्घाटन गर्नुभयो ।    

मोबाइल एपमार्फत पानसमा बत्ति बालेर मन्त्री शर्माले २८औं संस्करणको क्यान इन्फोटेक औपचारिक रुपमा उद्घाटन गर्नुभएको हो । सो अवसरमा ड्रोनबाट पुष्पवृष्टि समेत गरिएको थियो ।    प्रमुख अतिथिको आसनबाट बोल्दै मन्त्री शर्माले प्रविधिको प्रयोगले अहिले सेवा लिन र दिन सहज भएकाले यस क्षेत्रको विकासमा राज्यको सहयोग हुने बताउनुभयो । “सेवा क्षेत्रमा प्रविधिको प्रयोग बढाउन सके विभिन्न ठाउँमा हुने गरेको अनियमितता कम हुन्छ,” उहाँले भन्नुभयो, “यसकारण सरकार र मन्त्रालय यो क्षेत्रको विकासका लागि निरन्तर लाग्ने छ ।”    

मन्त्री शर्माले सूचना प्रविधि क्षेत्रमा योजनाबद्ध काम गर्न आफूले पहल गरिरहेको बताउनुभयो । विगतमा राजीनतिक अस्थिरताका कारण राज्यले सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिन नसकेको चर्चा गर्दै उहाँले आफ्नो नेतृत्वमा योजनाबद्ध ढंगले काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।    

साथै चाँडै नै आईटी कानून बनाई यस क्षेत्रको व्यवस्थापन गर्न ध्यान दिने पनि उहाँले उल्लेख गर्नुभयो । सूचना प्रविधि क्षेत्रलाई शिक्षा, कृषिलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने कुरा महत्वपूर्ण रहेको उहाँको भनाइ थियो ।    नेपाल सरकारले सूचना प्रविधि क्षेत्रमा लगानी बढाउन तथा यस क्षेत्रमा देखिएका समस्याको समाधानका लागि निजी क्षेत्र र सरोकारवालाको सहयोग आवश्यक रहेको पनि उहाँले बताउनुभयो ।    

क्यान इन्फोटेक समुद्घाटन समारोहमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमै तयार भएका वस्तु एवं सेवालाई राज्यले प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो । महासंघले भिजन २०२० मा आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताउँदै उहाँले स्वदेशमा दक्ष जनशक्ति तयार पारी उनीहरूलाई यहीँ अवसर दिन सरकारसँग सहज वातावरणको माग राख्नुभयो ।    

त्यस्तै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नेपालमा सूचना प्रविधि सम्बन्धी स्पष्ट नीति र एकद्धार प्रणाली नहुँदा यो क्षेत्र पछि परेको औंल्याउनुभयो । सूचना प्रविधिको विकासमा ध्यान दिन सके मुलुक आत्मनिर्भर बन्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।    त्यस्तै नेपाल उद्योग परिसंघका उपाध्यक्ष विरेन्द्रराज पाण्डेले सूचना प्रविधि क्षेत्रमा विदेशी कम्पनी एवं वैदेशिक लगानी भित्र्याउन सके देशले लाभ उठाउनसक्ने विचार राख्नुभयो । साथै उहाँले आईटी शिक्षामा कोटा प्रणाली अन्त्य हुनुपर्ने मागसमेत राख्नुभयो ।  

क्यान महासंघका अध्यक्ष रणजीत पोदारले विश्वमा आर्थिक मन्दीको त्रास र नेपालमा वैदेशिक मुद्रा सञ्चितीमा देखिएको समस्याका बीच सूचना प्रविधि व्यवसाय अगाडि बढिरहेको सन्दर्भ राख्दै सरकारले सहज नीति र कार्यक्रम ल्याउने हो भने आईटी क्षेत्रबाट मनग्गे वैदेशिक मुद्रा भित्र्याउन र लाखौंको रोजगारी सिर्जना गर्न सकिने बताउनुभयो । यस क्षेत्रमा आवश्यक नीति र पूर्वाधारको सही व्यवस्थापन हुन नसक्दा देशको  राष्ट्रिय सुरक्षा र हितमा खलल पुग्नेगरी देशभित्र र देशबाहिरबाट साइबर हमलाको खतरा भइरहेको पनि उहाँले उल्लेख गर्नुभयो ।    

डिजिटल नेपालको फ्रेमवर्कले लिएको सार्वजनिक निजी साझेदारीको माध्यमबाट विश्वसनीय सूचना तथा सञ्चार प्रविधि पूर्वाधार स्थापना र यसैसँग सम्बन्धित पछिल्लो समय विद्युत पोल भाडाको विषयमा देखिएको समस्याको समाधानका लागि अध्यक्ष पोदारले मन्त्री शर्मासँग अभिभावकीय भूमिकाको अपेक्षा राख्नुभयो ।    

क्यान इन्फोटेक २०२३ को टाइटल स्पोन्सर इन्फोडेभर्सका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीले नेपाली पुँजी, सीप र मेहनतलाई राज्यले प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो । स्वदेशमै उत्पादित उत्पादनको प्रवद्र्धनका लागि उहाँले नेपाल सरकारको प्रेरणादायी भूमिका आवश्यक रहेको वितार राख्नुभयो ।    

क्यान इन्फोटेक २०२३ को एसोसिएट स्पोन्सरमा डिशहोम फाइबरनेट रहेको छ । त्यस्तै डायमण्ड स्पोन्सरमा नेपाल टेलिकम, गोल्ड स्पोन्सरमा माया एनिमेसन एकेडेमी, ह्वावे र सिल्भर स्पोन्सरमा एस पावर, अन सिक्का, डिजिकम रहेका छन् ।    टिकेटिङ पार्टनरमा पेवेल, बैकिङ्ग पार्टनरमा कुमारी बैंक लिमिटेड, इन्सुरेन्स पार्टनर आई एम ई जनरल इन्सुरेन्स, नलेज पार्टनर लर्ड बुद्ध एजुकेसन फाउन्डेसन, ट्रेनिङ्ग पार्टनरमा इन्टरनेशनल स्कुल फर स्किल्स, फुड एण्ड बेभरेज पार्टनर र्याकेट बार एण्ड इभेन्ट्स, भर्चुअल एक्जिबिसन पार्टनर मण्डला सिस्टम, सीसीटीभी पार्टनर ई थ्रिरी सेल्स एण्ड सर्भिसेज र एसएमएस पार्टनर स्पारो एसएमएस रहेका छन् ।  

प्रदर्शनीस्थलमा रहेको ब्रान्डिङ कक्षमा देश-विदेशका विभिन्न कम्पनी एवं ब्रान्डहरूको उपस्थिति रहेको छ । यसअन्तर्गत फिन्टेक , इन्टरनेट सेवाप्रदायक, टेलिकम सेवाप्रदायक, हार्डवेयर सेल्स तथा मेन्टेनेन्स, पावर सोलुसन्स लगायत छन् ।    

त्यस्तै यसपटक स्टार्टअप, इनोभेसन, कलेज तथा तालिम केन्द्रहरू, सफ्टवेयर सोलुसन्सका साथै कम्प्युटिङ डिभाइससँग सम्बन्धित कम्पनीका लागि विशेष स्थान दिइएको क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार मेलामा कुल २०० स्टल रहेका छन् ।     मेलामा प्रदर्शनीकर्ता कम्पनीहरूले आफ्ना वस्तु तथा सेवा उपभोक्तामाझ प्रवर्द्धन गरेका छन् । साथै यही अवसरमा कम्पनीहरूले आफ्ना उत्पादनमा ‘क्यान इन्फोटेक अफर’ दिँदै छुट योजना पनि सार्वजनिक गरेका छन् । आफ्ना उपभोक्तासँग नजिकिन कम्पनीहरूले अन्तर्क्रिया र रमाइला खेल समेत सञ्चालन गरेका छन् ।    

साथै क्यान इन्फोटेक अवसर पारी नेपाल पर्यटन बोर्डको सभाहलमा माघ २५ गतेदेखि २८ गतेसम्म क्यान आईसीटी सम्मेलन हुँदैछ । यसअन्तर्गत माघ २५ गते इन्डस्ट्री र एकेडेमियाबीचको ग्यापका विषयमा सेमिनार हुनेछ । माघ २६ गते ब्लकचेन प्रविधि र माघ २८ गते फिनटेक र नेपालमा इन्टरनेट इकोसिस्टम गरी दुई विषयमा सेमिनार हुनेछ ।  

नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रको ठूलो उत्सवका रुपमा परिचित क्यान इन्फोटेकलाई भव्यताका साथ आयोजना गर्न नेपाल सरकार र मातहतका निकायहरु, सूचना प्रविधि व्यवसायी, नीति निर्माता एवं विज्ञ समूह, शिक्षण संस्था, सञ्चारकर्मी एवं प्रविधिप्रेमी सर्वसाधारणलाई क्यान महासंघले विशेष अनुरोध गरेको छ ।  

 क्यान महासंघबारे :

सन् १९९२ मा स्थापना भएको कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) नेपालमा सूचना प्रविधि क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ, संघ/संस्था र व्यवसायीहरुको छाता संगठन हो । यो गैरराजनीतिक, गैरनाफामूलक चरित्रको संस्था हो । यसले सूचना तथा सञ्चार प्रविधिसम्बन्धि व्यवसायी तथा विज्ञहरुको हक हितका लागि काम गर्दै आएको छ भने सूचना प्रविधिसम्बन्धी नीति निर्माण, कार्यान्वयन तथा सहजीकरण लगायतका कार्यक्रममा सरकारलाई आवश्यक सुझाव र सहयोग पनि दिँदै आएको छ । क्यान सन् २०१५ मा कम्प्युटर एसोसिएसन नेपाल महासंघमा रुपान्तरित भएको हो ।    

धन्यवाद । 


Press Release Details

Posted on : 7th February, 2023
Posted by : Udeep Baral
Created at : 7th February, 2023

Other Press Releases

प्रेस विज्ञप्ति: नेसनल आईसीटी स्कलरसिप– २०८०...
26th August, 2023
प्रेस विज्ञप्ति: क्यान इन्फोटेक २०२३ भव्यताका साथ सम्पन्न...
12th February, 2023
प्रेस विज्ञप्ति: क्यान इन्फोटेक २०२३: स्टार्टअप र नयाँ प्रविधिमा विशेष आकर्षण, आइतबार अन्तिम दिन ।...
11th February, 2023
प्रेस विज्ञप्ति: क्यान इन्फोटेक प्रर्दशनीमा प्रविधिप्रेमीको घुँइचो ।...
10th February, 2023
~~ प्रेस विज्ञप्ति ~~ क्यान इन्फोटेक २०२३ मा प्रविधि कम्पनीहरुबीच बजारीकरणको प्रतिस्पर्धा...
9th February, 2023
प्रेस विज्ञप्ति: क्यान इन्फोटेकको दोस्रो दिन, अफर स्टलमा अवलोकनकर्ताको भीड...
8th February, 2023
प्रेस विज्ञप्ति: सूचना प्रविधिको कुम्भ मेला ‘क्यान इन्फोटेक २०२३’...
7th February, 2023
क्यान इन्फोटेक २०२३ का सन्दर्भमा क्यान महासंघ द्वारा आयोजित पत्रकार सम्मेलन...
26th January, 2023
क्यान महासंघ 'नेसनल आईसीटी स्कलरसिप– २०७९’...
10th August, 2022
~~ प्रेस विज्ञप्ति ~~ क्यान इन्फोटेकको २७ औं संस्करण २०७९ साल वैशाख ७ देखि १२ गतेसम्म हुने...
22nd February, 2022

Copyright © 2018 Federation of Computer Association Nepal (CAN Federation) | All rights reserved

Powered by Young Minds