प्रेस विज्ञप्तिः क्यान इन्फोटेकको २७ औं संस्करण माघ १८ गतेदेखि २३ गतेसम्म हुने ।
सूचना तथा संचार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तरक्रिया गर्ने उद्देश्यले बर्षेनी आयोजना हुदैं आएको क्यान इन्फोटेकको २७ औं संस्करण मिति २०७८ साल माघ १८ गते देखि २३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुनेगरी तयारी अगाडि बढाइएको छ ।
इन्फोटेकको २७ औं संस्करण गत बैसाख २८ गतेदेखि जेठ २ गतेसम्म हुने गरी सबै तयारी गरिएकोमा कोभिड-१९ को दोश्रो लहर काठमाडौं उपत्यका लगायत देशका प्रमुख शहरहरुमा व्यापकरुपमा फैलिएको, कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिस तथा निर्णयहरु, कोभिड नियन्त्रण सम्बन्धी नेपाल सरकारका पछिल्ला निर्णयहरुलाई ध्यानमा राख्दै क्यान इन्फोटेकका प्रायोजक, प्रदर्शनीकर्ता, सहयोगी तथा सरोकारवालाहरुसंगको परामर्श तथा क्यान महासंघको केन्द्रीय कार्यसमितिको निर्णय अनुसार अर्को निर्णय नभए सम्मको लागि स्थगित गरिएको थियो ।
साथै, महामारी तथा बन्दाबन्दीका बेलामा देखिएको सूचना तथा संचार प्रविधिको अपरिहार्यताले संवन्धित सम्पूर्ण सरोकारवालाहरुलाई यस क्षेत्रप्रति थप आकर्षित गरेको हामि सबैले महशुस गरेका छौं ।
इन्फोटेककै पुर्व-संध्यामा क्यान महासंघले मंसिर ३ गते शुक्रवार काठमाण्डौमा गरेको बीटुबी आइसिटी बिजनेश समिट - २०२१ मा देशभरवाट सुचना तथा संचार-प्रविधि सम्बन्धि ब्यबसायीहरुको अभुतपुर्व जमघट, छलफल तथा इन्फोटेकको २७ औं संस्करणको बारेमा ब्यक्त चासोका कारण पनि आगामी क्यान इन्फोटेक अझ विशेष हुने हाम्रो अपेक्षा छ ।
क्यान इन्फोटेकको २७ औं संस्करणको मिति घोषणासंगै यसको शिर्ष प्रायोजन(Title Sponsor), सह-प्रायोजन(Associate Sponsor),प्लाटिनम, डायमण्ड, गोल्ड र सिल्भर प्रायोजनका साथै अन्य प्रायोजन तथा साझेदारीका निम्ति प्रस्ताव खुल्ला गरिएको छ ।
सूचना तथा संचार प्रविधि प्रर्दशनीमा क्यान महासंघका सदस्य संस्थाहरुका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरुको सहभागिता प्रचलन छ । प्रर्दशनीलाई व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ–नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्ने तथा अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला र भविष्यका निम्ति प्रविधिहरु र उपकरणको अवलोकन तथा खरिद गर्न पाउनेछन् । यो प्रर्दशनी सुचना प्रबिधिसम्बन्धि चासो राख्नेहरुको लागि यस क्षेत्रमा भएका विकास तथा प्रयोगका बारेमा जानकारी लिने विषेश थलो पनि हुने बिश्वास हामीले लिएका छौं । क्यान इन्फोटेकले सूचना तथा सञ्चार प्रविधि क्षेत्रका कम्पनीहरुलाई आफ्नो बजार विस्तार गर्ने, ग्राहकका आवश्यकता थाहा पाउने, बजार सर्वेक्षण गर्ने, नयाँ उत्पादनहरु सार्वजनिक गर्ने र ग्राहकसँग आपसी सम्बन्ध स्थापना गर्ने अभूतपूर्व अवसर दिनेछ ।
क्यान इन्फोटेक २०२२ मा ब्राण्डिङ, आइसिटी एक्ससरिज, गेम पार्लर, प्रडक्ट लञ्चिङ,स्टार्ट-अप, रोबोटिक्स, इमर्जिङ्ग टेक्नोलोजि,इ–वेष्ट म्यानेजमेण्ट, वाइफाइ तथा इण्टरनेट र लर्निङ सेन्टर लगायतका विभिन्न खण्डहरु रहनेगरी तयारी अगाडि बढाईएको छ ।
इन्फोटेकमा प्रदर्शनीकर्ताहरुले सफ्टवेयरहरु, नेटवर्किङ र क्लाउड सोल्युशन, मोबाइल फोन तथा सोल्युशन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटि सोल्युशन, सोलार पावर सिष्टम, इन्भर्टर, युपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिण्टर, पावर सिष्टम, कम्प्युटर एक्सेसरिज, एण्टिभाइरस सफ्टवेयर, बैंकिङ सोल्युशन, सीसीटीभी र हार्ड डिस्क, आईओटी तथा आर्टीफिसियल ईन्टेलिजेन्स सम्बन्धि जानकारि, आईटी कलेज, बैंक, बीमा तथा लेखासम्बन्धी सफ्टवेयर, सरकारि क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर र सोलुसन्स, स्वास्थ्य, पर्यटन र कृषिमा सूचना प्रविधि, सेल्फ लर्निङ सफट्वेयर तथा ट्युटोरियल आदि प्रर्दशनीमा रहनेछन् ।
क्यान इन्फोटेकको २६ औं संस्करण करिब साढे ३ लाखले अवलोकन गरेकोमा यो संस्करणमा समेत सोहि वा वढि संख्यामा अवलोकनकर्ता आउने हामीले अपेक्षा गरेका छौं ।
धन्यवाद ।
Press Release Details
Posted on : 4th December, 2021 Posted by : udip baral Created at : 4th December, 2021 |